वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । उनले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताइन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले माइतीघर मण्डलामा आन्दोलनरत इन्टर्न चिकित्सकको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन् । ओलीले भने, ‘केही समयअघि मैले यही सदनबाट इन्टर्न डाक्टरहरूको आवाज उठाएकी थिएँ । अहिले वीर अस्पतालको आईसीयूमा एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरू आन्दोलनरत हुनुहुन्छ। उहाँहरूमध्ये एक जना अहिले आईसीयूमा गम्भीर अवस्थामा हुनुहुन्छ । उहाँहरूको माग भनेको समान भत्ता होस्, चिकित्सकहरूको मासिक भत्ता सम्बन्धी प्रतिवेदन कार्यान्वयन होस् र कार्यघण्टा श्रम ऐन अनुसार लागू होस् भन्ने हो । सरकार र स्वास्थ्य मन्त्रालयले तत्काल यो विषय सम्बोधन गर्नुपर्छ।’
ओलीले माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत अन्य नागरिकका समस्या पनि सरकारले बेवास्ता गर्न नहुने बताइन् । उनले मिटरब्याज पीडित, दुर्घटना पीडित तथा न्यायको माग गर्दै आन्दोलन गरिरहेका नागरिकको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखिन् । उनले ग्यास अभाव र मूल्य वृद्धिको समस्या समाधानका लागि विद्युतीय चुलोलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij