वेबटिभी खबर
काठमाडौं । विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ । १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ । जीवनको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइने यस सप्ताहले नयाँ अभिभावकमाझ स्तनपानको महत्वबारे जनचेतना फैलाउने र शिशुको स्वास्थ्य सुधारमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
स्वास्थ्य विज्ञका अनुसार जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी, ग्लुकोज, भिटामिन वा अन्य कुनै पनि खाना आवश्यक पर्दैन। शिशुलाई आवश्यक पोषक तत्त्व, पानी तथा रोग प्रतिरोधात्मक क्षमता आमाको दूधबाटै प्राप्त हुने भएकाले यो अवधिमा पूर्ण स्तनपान गर्न सिफारिस गरिएको छ। पूर्ण स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, सङ्क्रामक रोगको जोखिम घटाउने र बाल मृत्युदर कम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। यसले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ।
त्यस्तै, शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुलाई प्रारम्भिक स्तनपान भनिन्छ। जन्मिएपछि आउने पहेँलो बिगौती दूध (कोलोस्ट्रम) रोगसँग लड्ने प्रतिरक्षात्मक तत्त्वले भरिपूर्ण हुने भएकाले यसलाई शिशुको पहिलो प्राकृतिक खोपका रूपमा समेत लिने गरिन्छ। स्वास्थ्यकर्मीहरूले शिशु ६ महिना पुगेपछि आमाको दूधसँगै पोषिलो थप आहार सुरु गर्न र कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिन आग्रह गरेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij