वेबटिभी खबर
काठमाडौं । नासाले छिट्टै नै चन्द्रमा आफ्नो कक्षमा घुम्ने क्रममा डगमगाउने सम्भावना रहेको बताएको छ । यसैका कारण सन् २०३० को दशकमा भीषण बाढी सुरु हुने र १० वर्षसम्म विनाशकारी बाढीको सिलसिला जारी रहने बताएको छ । अध्ययनमा अमेरिकामा पर्ने प्रभावलाई केन्द्रित गरिएको छ ।
नेसनल ओसियनिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार सन् २०१९ मा अमेरिकामा अत्यधिक बहावसहितका ६०० बाढी आएका थिए । नेचर क्लाइमेट पत्रिकामा प्रकाशित अध्ययनमा सन् २०३० मा यो संख्या कैयौं गुणाले बढ्ने बताइएको छ ।
नासाको अध्ययनमा चन्द्रमा आफ्नो कक्षमा डगमगाउँदा पृथ्वीमा धेरै पटक बाढी आउने सम्भावना रहेको बताइएको छ ।
बाढीले समुद्री किनार र होचो भूभागमा बस्ने मानिसका लागि जोखिम सिर्जना गर्न सक्छ । प्रोफेसर फिल थम्पसनका अनुसार जलवायु परिवर्तनले पनि पृथ्वीमा थप प्राकृतिक संकट उत्पन्न गराउँछ ।
एक महिनामा १० देखि १५ पटकसम्म बाढी आइरह्यो भने पानीमा हुने कुनै पनि व्यवसाय सञ्चालन गर्न नसक्ने स्थिति आउने थम्पसनको भनाइ छ । चन्द्रमा डगमगाउनु खासै खतरनाक होइन । पहिलोपटक सन् १७२८ मा चन्द्रमा आफ्नो कक्षमा घुमिरहँदा डगमगाएको थियो । साथै यो १८ वर्ष ६ महिनाको प्राकृतिक चक्र हो ।
नासाका अनुसार यस चक्रको पहिलो भागको अवधिमा पृथ्वीको नियमित ज्वारमा दबाव पर्छ र बाँकी अवधिमा छालहरू तीव्र उठ्छन् । नासाका अनुसार चन्द्रमा अहिले आफ्नो चक्रको आधा भागमा छ, जसका कारण पहिल्यै धेरै समुद्री तटहरुमा बाढीको संख्या बढाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij