वेबटिभी खबर
बन्दीपुर । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवम् बाह्य पर्यटकको चहलपहल बढेको छ ।
पर्यटकको चहलपहल भएसँगै बन्द जस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको हो । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकालले भने, ‘बन्द जस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’
सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उनले बताए । पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उनको भनाइ छ ।
त्यस्तै बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङले भने, ‘पहिले-पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन ।’ अहिले यहाँ पर्यटक कम मात्रामा आउने गरेको व्यवसायी गुरुङले बताए ।
‘दुई वर्ष कोरोनाले पर्यटक नै शून्य भए, अहिले सिजन हो, आउनुपर्ने जति पर्यटक बन्दीपुर आउन सकेका छैनन्’, गुरुङले भने, ‘राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव गरेका छौँ ।’
सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा यहाँ आउने विदेशी पर्यटक घटेका उनको भनाइ छ । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधानले बताए ।
‘दुई वर्ष अगाडि प्याकेजबिना पनि पर्यटक आउने गर्दथे, तर अहिले प्याकेजमा मात्रै आउने गरेका छन्’, अध्यक्ष प्रधानले भने । यस वर्ष सडक विस्तारले पनि केही समस्या भएको उनले बताए ।
अध्यक्ष प्रधानले भने, ‘सडक सहज नबन्दा पनि बेसिजनमा आउने पर्यटक भने पक्कै घटेका छन्, राजमार्ग विस्तार सकिएपछि अझै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार अहिले प्याकेजमा भने दैनिक २० देखि २५ विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेका छन ।
‘सिजन तथा बेसिजनमा विदेशी पर्यटक बन्दीपुरमा जतिबेला पनि देखिन्थ्यो, अहिले प्याकेजमा मात्रै आउने गरेका छन्, यसले बन्दीपुरको व्यवसाय पनि घटेको प्रत्यक्ष देखिन्छ’, अध्यक्ष प्रधानले भने ।
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको छन ।
परम्परागत पुराना घर, यहाँको रहनसहन, स्वागत-सम्मान, ढुंगाले बिछ्याएको बाटोघाटोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ ।
बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो ।
बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो ।
उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामकरण गरिएको हो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।
यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ आउन आकर्षित हुने गर्दछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij