वेबटिभी खबर
काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिकरूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
सवारी चालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिकरूपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिकरूपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij