वेबटिभी खबर
काठमाडौं । चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरि तयारी गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।
कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ ।
प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाईमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।
यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ ।
त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उनले भने, ‘यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।’
अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए ।
प्राविधिक प्रस्तावको मूल्यांकनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्यांकनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।
चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।
जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उनको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् ।
कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा ४०० हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरूले परीक्षा दिँदै आएका छन् ।
उनका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij