वेबटिभी खबर
काठमाडौं । रिक्त रहेको रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्य दिपक बोहराको मिति २०८१।१२।१९ मा निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो ।
प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यो स्थान सोही निर्वाचन प्रणालीबाट पूर्ति गर्ने प्रावधान छ ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रूपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पद एकको लागि मिति २०८२।०७।१७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हाे ।
आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ । साथै उक्त क्षेत्र केन्द्रित मतदाता नामावली संकलन पनि स्थगित भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij