वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठक बुधबार (आज) पनि बस्दै छ । आज बस्ने बैठक सोमबार र मंगलबार बसेकै बैठकको निरन्तरता हाे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना एमाले सांसदलाई अनुशासनको कारबाहीका लागि आजको बैठकले निर्णय गर्ने भएको छ ।
सोमबार दिउँसो बसेको बैठकले २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । मंगलबार बसेको बैठकमा ती सांसदलाई कारबाहीबारे कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता प्रदीप ज्ञवालीले, ‘२४ घण्टा समय पुरा भइनसकेकाले कारबाहीको निर्णय नगरिएको हो,’ भनेका थिए ।
बुधबार बस्ने बैठकले २२ सांसदलाई कारबाहीको निर्णय गर्न सक्नेछ । तर सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधार ५ बमोजिम प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न दिएको परमादेशले सदनमा उनलाई विश्वासको मत दिँदा पार्टीको ह्विप नलाग्ने फैसला पनि गरिसकेको छ । अदालतको यो व्याख्याका कारण एमाले सांसदहरुले देउवालाई विश्वासको मत दिन पाउनु आफूहरुको अधिकार भएको र यसमा पार्टीले हरुतक्षेप गरे पार्टीविरुद्ध कानुनी प्रतिकार गर्ने चेतावनी दिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष हच्किएको वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरु बताउँछन् ।
२ जेठ ०७५ मा सम्पन्न एमालेको नवौं केन्द्रीय कमिटीको निरन्तरताका रुपमा सोमबारबाट १० औं बैठक चलिरहेको छ । वरिष्ठ नेता नेपालले पार्टीको केन्द्रीय कमिटीको १० बैठक बस्नुपर्ने, सर्वोच्च अदालतले २३ फागुन ०७७ मा एमाले ब्युँताएपछिका सबै निर्णय खारेज गर्नुपर्ने माग राख्दै आए पनि केन्द्रीय कमिटीकै बैठकमा नेपाल पक्ष सहभागी छैन ।
नेपालले पछिल्लो समय एमाले अध्यक्षको रुपमा आफूलाई उभ्याउनु पर्ने र पार्टीका हरेक निर्णयमा आफ्नो हस्ताक्षर अनिवार्य हुनुर्पो माग राखेका छन् । जसका कारण एमाले एकता झन् पेचिलो बनेको छ । आजको बैठक ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्दैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij