वेबटिभी खबर
बाँके । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पुर्याउनै समस्या भइरहेको उनले बताए । ‘रक्तसञ्चार केन्द्रमा विभिन्नरुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात छ’, रेग्मीले भने, ‘खासगरी चाडपर्व र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गर्दछ ।’
रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीका अनुसार रक्तदानका भरमा रहेको ब्लड बैंकमा मागअनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपरेको छ । ‘आवश्यक रगत मौज्दात नहुँदा बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ’, रेग्मीले भने, ‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा र बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमितरूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । ठूलो घटना वा दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाइ छ ।
रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगञ्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगञ्जस्थित ब्लड बैंकमा हाल तीन हजार पिन्टभन्दा बढी रगत मौज्दातको क्षमता विस्तार भए पनि त्यसअनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताए ।
नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा १६ हजार सात सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९/८० मा १८ हजार सात सय ५७ पिन्ट रगत वितरण गरेको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्र जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij