रेश्मा सिंह
हामीले दैनिक खाने खानामा ध्यान नदिँदा हाम्रो स्वास्थ्यलाई असर परिरहेको हुन्छ । स्वादका लागि खाइने खानाले स्वास्थ्यलाई बिगारिरहेको हुन्छ । स्वादलका लागि हाल्ने पिरो, नुन, चिल्लो र गुलियो शरीरका लागि स्वस्थकर हुँदैनन् ।
स्वादकै कारण हामीले आफ्नो स्वास्थ्यमा खेलवाड त गरिरहेका छैनौं ? त्यसैले कुन कुरा स्वस्थ्यकर र कुन कुरा अस्वस्थकर भनेर हामीले बुझ्नु जरुरी छ । खानाका बारेमा जानकारी नहुँदा हामीले आफ्नै स्वास्थ्यलाई हानी पुर्याउने कुरा खाइरहेका हुन सक्छौं ।
हामीले खाने खानामा कार्बोहाइडेड, प्रोटिन, फाइबर, भिटामिन कति मात्रामा पाइन्छ ? यसको जानकारी हुनुपर्छ । हामीले दिनँहु खानेकुरामा बढी मात्रामा फाइबर (रेशादार) भएको खानुपर्छ ।
राम्रो स्वास्थ्यको लागि निम्न खानेकुरामा विशेष जोड दिनुपर्छ
चामल/भात
नेपालमा बिहान बेलुकै भात खाने चलन छ । चामलमा कार्बोहाइडेड अत्यधिक मात्रामा पाइन्छ । यसमा फाइबर र प्रोटिनको मात्रा एकदम कम हुन्छ । त्यसैले भातलाई स्वास्थ्यको लागि राम्रो खाना मानिदैन । कार्बोहाइड्रेड बढी भएको खाना खाँदा भविष्यमा मधुमेह, उच्च रक्तचाप जस्तो रोग हुने जोखिम बढ्छ । त्यसैले हामीले खाने खानामा भातको प्रयोग कम गर्नुपर्छ । भात खाने बानी नै छ भने धान उसिनेर बनाएको चामल प्रयोग गर्नु राम्रो हुन्छ । सेतो चामल भन्दा ब्राउन राइसको भात खानुपर्छ ।
मकै, गहुँ, जौको प्रयोग
हामीले दैनिक खाने खानेकुरामा मकै, गहुँ, जौको प्रयोग बढी गर्नुपर्छ । मकै, गहुँ, जौमा फाइबरको मात्रा बढी हुने भएकाले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । मकै, गहुँको तुलनामा जौलाई अझ राम्रो मानिन्छ । त्यसैले उपलब्ध भएसम्म जौले बनेका खानेकुरामा बढी जोड दिनुपर्छ । हामी एक समय भात, एक समय रोटी खाने बानीको विकास गर्नुपर्छ । हामीले भातको मात्रालाई घटाएर रोटीको मात्रा बढायौं भने स्वास्थ्यको लागि राम्रो हुन्छ ।
दाल, गेडागुडी
दाल र गेडागुडी हाम्रो शरीरको लागि उपयुक्त खानेकुरा हो । बजार तथा गाउँघरमा सजिलै प्राप्त हुने दाल, गेडागुडीले स्वास्थ्यलाई फाइदा गर्छ । दाल, गेडागुडीमा भिटामिन, प्रोटिन र फाइबरको मात्रा अत्यधिक पाइन्छ । तर दाल, गेडागुडी बनाउने वेला धेरै समयसम्म फ्राइ गर्नुहुदैन ।
तरकारी र सागसब्जि
तरकारी र सागसब्जिमा कार्बोहाइडे«डको मात्रा निकै कम हुन्छ । यसमा प्रोटिन, फाइबर अत्यधिक हुन्छ जसले कोलेस्ट्रोल र मधुमेहलाइ नियन्त्रण गर्छ । मुटुरोग र अन्य रोग लाग्नबाट बचाउँछ । त्यसैले प्रत्येक दिन कम्तिमा दुईदेखि तीन पटक तरकारी खानुपर्छ । तरकारी बनाउँदा तेल, नुन धेरै हालेर बनाउनु हुँदैन ।
आलु
आलुलाई उसिनेर खानु राम्रो हुन्छ । आलुलाई तारेर खाने चलन पनि छ । तर, तारेको आलु स्वास्थ्यका लागि हानीकारक हुन जान्छ ।
फलफूल
मौसमअनुसार पाइने फलफूल खानु स्वास्थ्यको लागि राम्रो हुन्छ । फलफूल जति धेरै खायौं त्यति नै स्वस्थ हुन्छौं ।
मसलाको प्रयोग
हामीले दैनिक खानामा मसलाका प्रयोग गर्छौं । तेल र नुनको प्रयोगलाई घटाएर मसलाको प्रयोग गर्यौं भने स्वास्थ्यको लागि लाभदायक हुन्छ । मसलाको सही प्रयोगले खानालाई स्वादिष्ट बनाउनका साथै स्वस्थ्यलाई पनि फाइदा पुग्छ । मसलामा प्रयोग हुने लसुन, प्याज, अदुवा, हरियो खुसार्नीको प्रयोगले स्वास्थ्यलाई फइदा गर्छ । कसैलाई खुसार्नीको प्रयोग गर्दा पेट पोल्ने समस्या हुन्छ भने कम गर्नु राम्रो हुन्छ ।
दुधजन्य खानेकुराबाट टाढा रहने
दुध र दुधजन्य पदार्थमा चिल्लो बढी हुन्छ । जसको कारण हाम्रो शरीरमा कोलेस्ट्रोल बढाउँछ । त्यसैले स्वस्थ व्यक्तिले दुधजन्य खानेकुरा धेरै खानु हुँदैन । दुधको प्रयोग बालबालिका, गर्भवती महिला, पोषणको कमी भएका र बिरामीले आवश्यक मात्रामा गर्नु पर्छ । दुधको तुलनामा दही र महीमा चिल्लोको मात्रा कम हुन्छ, त्यसैले यसको प्रयोग गर्न सक्छौं ।
तेलको प्रयोग कम गर्ने
खानामा तेलको प्रयोग कम गर्नुपर्छ । तेल, घिउको प्रयोगले मुटु सम्बन्धी समस्या उत्पन्न हुन सक्छ । तेलमा तारेका वा बजारमा पाइने फास्टफुड खाने बानीलाई हटाउनु पर्छ । आजभोली घरको खाना भन्दा होटेल तथा रेष्टुँरेन्टको खाना खाने बानीको विकास भएको छ तर यो स्वस्थ बानी होइन । हामीले सकेसम्म घरमै बनेका स्वस्थ खानेकुरामा जोड दिनुपर्छ ।
डा.ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij