वेबटिभी खबर
बाँके । खडेरीले खेतबारी सुक्खा भएपछि का किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन् ।
आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए । सिँचाइको व्यवस्था नभएकाले किसानले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, अध्यक्ष केसीले भने, ‘समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन् ।’
जेठ सकिन लाग्दा पनि बीउ राख्न नपाएकाले यस वर्ष धान उत्पादनमा पनि कमी आउने चिन्ता बढेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताए । मोटरको प्रयोग गरी रोपेको बीउ अत्यधिक गर्मीले सुक्न थालेको उनले जानकारी दिए ।
बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानी धाराको पानी प्रयोग गरेर बीउ राखिएको छ । नेपालगञ्ज, खजुरा, जानकी, बैजनाथलगायत क्षेत्रमा किसानले मोटर र खोनपानीमार्फत बीउ राखेका छन । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको नेपालगञ्ज–२३ पुरैनीका किसान चक्र बुढामगरले बताए ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइ व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन । बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले छोडेको पानीबाट कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकाका किसानले बीउ राखे पनि सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानलाई बीउ राख्नमै समस्या भएको बताए ।
बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने खाँको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij