एजेन्सी
नयाँ दिल्ली । राजस्थानको जयपुरमा प्रहरीले विभिन्न थानामा १३ वटा बलात्कारको मुद्दा दर्ता गराएकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ परेकी महिलाले यी मुद्दाको बहानामा ब्ल्याकमेल गरी पैसा असुलेको आरोप छ । जयपुर पश्चिमका डिसिपी अमित कुमारका अनुसार पुलिस टोलीले यस घटनामा संलग्न महिलालाई पक्राउ गरी न्यायिक हिरासतमा जेल पठाएको छ ।
एक व्यक्तिले आरोपित महिला विरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको थियो । उजुरीपछि पुलिसले यस सम्बन्धमा फिरौती असूलेको अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो । अमित कुमारले अनुसन्धानका क्रममा प्रहरीले पैसाको लेनदेनसँग सम्बन्धित प्रमाण फेला पारेपछि ती महिलालाई पक्राउ गरेको बताए ।
ती महिलाले जयपुर, कोटा र गुरुग्रामका विभिन्न प्रहरी थानामा १३ वटा बलात्कार मुद्दा दायर गरेकाे भारतीय सञ्चारमाध्यम हिन्दुस्तानले उल्लेख गरेकाे छ ।
एक प्रहरी अधिकारीका अनुसार सबै मुद्दाहरू अनुसन्धानको विभिन्न चरणमा छन् । ब्ल्याकमेल गरेर पैसा असूलेको देखिएपछि महिलाले दिएको सबै उजुरी झिकाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij