Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रोल्पा शहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारण सभा सम्पन्न

रोल्पा शहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारण सभा सम्पन्न

  • 56
    SHARES
  • रोल्पा शहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारण सभा सम्पन्न

    काठमाडौं । रोल्पा शहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा सम्पन्न भएको छ । संस्थाका महासचिवको सञ्चालन तथा अध्यक्ष सुमन विकको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, निवर्तमान नगर प्रमुख, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ओलीले गरेका थिए । 

    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएपनि विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), कर, महँगो ब्याजदर तथा उपभोक्ताको लगानीका कारण आम नागरिकले महँगो दरमा खानेपानीको महसुल तिर्न बाध्य भएको बताए । उनले रोल्पा शहर खानेपानी आयोजनाको डिजाइनमा कमजोरी हुँदा प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानबाट पानी ल्याउन सकिने अवस्था हुँदाहुँदै लिफ्टिङ प्रणालीमार्फत आयोजना डिजाइन गरिएको बताए।

    लिफ्टिङ प्रणालीका कारण आयोजनाको सञ्चालन खर्च महँगो भएको र त्यसको प्रत्यक्ष आर्थिक भार उपभोक्तामा परेको उनको भनाइ थियो। आयोजनाको डिजाइन तथा संरचनामा देखिएका समस्यालाई सम्बन्धित निकायले पुनरावलोकन गरी आवश्यक पुनर्निर्माण तथा सुधार गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापाले स्वच्छ र सफा खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताए । खानेपानी क्षेत्रमा स्थानीय सरकारले मात्र सबै काम गर्न नसक्ने उल्लेख गर्दै उनले केन्द्र सरकारका योजना तथा बजेटसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

    प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले पनि खानेपानीजस्तो आधारभूत सेवा आम नागरिकले सहज रूपमा पाउनुपर्ने बताउँदै खानेपानीको महसुल अनावश्यक रूपमा महँगो बनाउन नहुने धारणा व्यक्त गरे । उनले खानेपानीको महसुललाई सेवा प्रदान गरेबापत लिइने मूल्यका रूपमा बुझ्नुपर्ने बताए । निवर्तमान नगर प्रमुखले स्थानीय सरकारको आलोचना मात्र गर्नुभन्दा स्थानीय तहको बजेटको सीमिततालाई पनि बुझ्नुपर्ने जनाए । बजेट अभावका कारण खानेपानी क्षेत्रमा अपेक्षित लगानी गर्न नसकिएको उनको भनाइ थियो ।

    त्यसैगरी दाङ हापुरे–पुरन्धारा खानेपानी संस्थाका सचिव तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ दाङ जिल्ला सदस्य डिल्ली ओलीले आयोजना निर्माण सम्पन्न भएपछि त्यसको पुनर्निर्माण तथा मर्मतसम्भारमा सरकारले पर्याप्त ध्यान नदिनु खानेपानी आयोजनाहरूको प्रमुख समस्यामध्ये एक भएको बताए । साधारणसभामा संस्थाका कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो । सभाको समापन गर्दै संस्थाका अध्यक्ष सुमन विकले संस्थाको सेवा प्रभावकारी बनाउन उपभोक्ता, स्थानीय सरकार तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनले आगामी दिनमा खानेपानी सेवालाई थप व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij