एजेन्सी
नयाँ दिल्ली । भारतीय विमान कम्पनी एयर इन्डिया एक्सप्रेसका तीन सय वरिष्ठ पाइलटले विरामी परेको भन्दै एकै पटक विदा लिँदा ८६ वटा उडान रद्द भएका छन् । एक्कासी विदा लिएर उनीहरुले मोवाइलको स्वीच अफ गरेपछि वैकल्पीक व्यवस्था गर्न नसकेर उडान रद्द भएका हुन् ।
टाटा समूहको उक्त विमान कम्पनीका पाइलटहरुले रोखेको माग पुरा नभएपछि उनीहरु एकै पटक विदामा बसेको अनुमान गरिएको छ । वरिष्ठ क्याबिन क्रु दलका सदस्यहरूले अन्तिम क्षणमा बिरामी भएको रिपोर्ट गरेसँगै उनीहरूको मोबाइल फोन बन्द भएका थिए ।
क्याप्टेन र चालक दलका कर्मचारी अभावका कारण एयर इन्डिया एक्सप्रेसका ८६ उडान रद्द गर्नु परेको कम्पनीले जनाएको छ ।
एयर इण्डिया एक्सप्रेस कर्मचारीहरुको संगठनले गत महिना कम्पनीको व्यवस्थापनलाई पत्र लेखेर आफ्ना माग र समस्याहरु राखेको थियो ।
एयर इन्डिया एक्सप्रेसका कर्मचारीहरूले घर भाडा भत्ता, यात्रा भत्ता, महँगी भत्ता जस्ता अत्यावश्यक भत्ताहरू माग गरेका थिए ।
जानकारीका अनुसार हालसम्म एयर इन्डिया एक्सप्रेसका ८६ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । अचानक उडान रद्द भएपछि यात्रुहरु चिन्तित भएका छन् । धेरै यात्रुले आफ्नो सामाजिक सञ्जालमा अचानक उडान रद्द भएको गुनासो गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij