वेबटिभी खबर
बाग्लुङ । बाग्लुङमा खडेरीले जतासुकै मूल सुकेका छन । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बाग्लुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ ।
उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ । त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ । मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ ।
विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन् । पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ ।
उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्यांकीमा पानी खसाल्ने काम भइरहेको छ । यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए ।
पानी अभाव हुन थालेपछि समस्या भएको छ । तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ्याएर रात्माटा पुर्याएको छ । आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ ।
पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन । बाग्लुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन । ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन ।
‘हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो’, अध्यक्ष रानमगरले भने । काठेखोलाबाट पानी संकलन गरी हाल निर्माण भएका ट्यांकीबाट बजारमा वितरण गर्ने योजना छ । २०३२ मा पहिलो पटक बाग्लुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए ।
तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गरेका थिए । बाग्लुङ बजारमा अहिले चार हजारबढी धारा निर्माण गरिएका छन् । तर अधिकांस धारामा खडेरीको समयमा पानी आउँदैन । उपभोक्ता समितिको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij