वेबटिभी खबर
इडाहो । अमेरिकाको ग्रामीण क्षेत्र इडाहोमा विश्वका अर्बपतिहरुको समर क्याम्प सुरु भएको छ । त्यहाँको साउथोथ राष्ट्रिय उद्यानस्थित प्राइभेट रिसोर्ट सनभ्यालीमा सोमबारदेखि अर्बपतिहरुको वार्षिक सम्मेलन सुरु भएको हो । यसलाई ‘अर्बपति समरक्याम्प’ पनि भनिन्छ । यस सम्मेलनमा विज्ञानप्रविधि, मिडिया, फिल्म, खेलकुद र व्यापार व्यवसायसँग सम्बन्धित सबै धनाढ्यहरु उपस्थित हुन्छन् ।
वारेन बफेट, जेफ बेजोस, अमेजनका नयाँ सिइओ एन्डी जेसी, एप्पलका टिम कुक, फेसबुकका मार्क जुकरबर्ग, डिस्कभरीका सिइओ डेभिड जास्लभ, २० औं शताब्दि फक्सका उपप्रमुख जोन न्यालन, संयुक्त राष्ट्र संघका पूर्व राजदूत निकी हेली र माइक्रोसफ्टका बिल गेट्ससहित कैयौं प्रख्यात व्यक्तिहरु त्यहाँ पुगिसकेका छन् ।

हाल इडाहोको फ्राइडम्यान मेमोरियल हवाई मैदानमा बिजनेस जेट्सको भिड छ । ती विमानहरु त्यहाँ एक साता पार्क हुनेछन् । उक्त विमानस्थलबाट ती अर्बपतिहरुलाई १५ किलोमिटर टाढा पहाडले घेरिएको सनभ्याली रिसोर्ट पुर्याइनेछ । सो रिसोर्टमा एक सातासम्म बिजनेस रणनीति बनाउनेछन् ।
सम्मेलनमा मिडिया एवं अन्य कसैलाई पनि अनुमति दिइएको छैन । साथै सहभागी सबैले खोप लगाइसकेको र कोरोना भाइरस परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने छ । यस समर क्याम्पको आयोजनामा लगानी एलन एन्ड कम्पनीले गर्छ । सम्मेलनको मुख्य एजेन्डा महामारी र यसले अर्थतन्त्रमा पारेको असर हुनेछ ।

उनीहरुले आगामी एक वर्षका लागि आफ्नो उद्यमको लक्षित क्षेत्र र रणनीति पेश गर्नेछन् । इडाहोका गाउँमा १५०० जनसंख्या छ । कृषि र डेरी फर्म त्यहाँका मानिसको मुख्य व्यवसाय हो । सन् १९८२ मा त्यहाँ पहिलोपटक यस किसिमको सम्मेलन हर्बर्ट एलेनले आफ्ना भाइ चाल्र्ससँग गरेका थिए । उनी एलन एन्ड कम्पनीका संस्थापक हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij