Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण

घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण

  • 144
    SHARES
  • घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सातजना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन ।

    यही चैत १९ देखि २३ गतेसम्म पाँचवटा वडामा आयोजना गरिएको घुम्ती शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र एक सय ३० जनालाई सहायता सामग्री वितरण गरिएको हो ।

    शारीरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडास्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए । वडा २ मा पाँच, वडा नं ३ मा १४, वडा नं ४ मा १४, वडा नं ६ मा आठ र वडा नं ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लट्ठी, पाँच जनालाई वैशाखी, नौजनालाई ब्लाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाई कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी उपलब्ध गराइएको उनले बताए ।

    अर्को चरणमा ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएकालाई ह्विल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन ।

    गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा.रोशन आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गरेका थिए ।

    वडामै निवेदन संकलन गरी अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झन्झटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको जनाए ।

    अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रका आधारमा सार्वजनिक यातायातलगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij