वेबटिभी खबर
चितवन । जनजातिको भाषा र संस्कृति प्रवर्द्धन गर्न चितवनमा महोत्सव गरिने भएको छ । आगामी चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सास्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।
आदिवासी जनजाति महासंघले आयोजना गर्न लागेको उक्त महोत्सवको तयारीबारे आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । महोत्सवमा तीन सय कक्ष रहने छन् ।
भरतपुर भ्रमण वर्ष, २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासंघ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिए ।
उनले भने, ‘आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट भरतपुर भ्रमण वर्षको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ ।’
महोत्सव अवधिभर दैनिकजसो सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्न सकिने छ । सो अवसरमा चितवनमा ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको जानकारी दिइयो ।
तीन लाख ३२ हजारभन्दा बढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको सो महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचान दिने संयोजक दुराको भनाइ छ ।
चितवनमा कूल जनसंख्याको ४६ प्रतिशत आदिवासी जनजातिको बसोबास छ । चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन् ।
सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका लागि महोत्सवबाट मद्दत पुग्ने महासंघका सल्लाहाकार पदम गुरुङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij