Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

उस्तै लक्षण हुने कोभिड-१९ र स्क्रब टाइफस कसरी छुट्याउने ?

उस्तै लक्षण हुने कोभिड-१९ र स्क्रब टाइफस कसरी छुट्याउने ?

  • 1.2K
    SHARES
  • उस्तै लक्षण हुने कोभिड-१९ र स्क्रब टाइफस कसरी छुट्याउने ?

    काठमाडौं । बर्षातको समयमा जहाँतँही पानी जम्मा हुने भएकाले विभिन्न रोगको संक्रमण हुने जोखिम हुन्छ । बर्खायाममा देखिने स्क्रब टाइफस र अहिले नेपालमा फैलिरहेको कोरोना भाइरसको लक्षण समान हुन्छ । दुबै बिरामीमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । त्यसैले स्क्रब टाइफस र कोभिड–१९ के भएको हो भन्नेमा बिरामी झुक्किने गरेका छन् । 

    लक्षण लगभग उस्तै–उस्तै भएकाले व्यक्तिको विवरणमा ध्यान दिनुपर्छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएको स्थानबाट आएको व्यक्तिलाई संक्रमणको जोखिम हुनसक्छ । उदाहरणका लागि परिवारमा कसैलाई कोरोना संक्रमण छ, आफूलाई पनि ज्वरो आयो, श्वासप्रश्वासमा समस्या भए संक्रमण भएको शंका गर्न सकिन्छ । 

    त्यसैगरि कोरोना भाइरस संक्रमण नफैलिएको ठाँउमा बसेको व्यक्तिलाई अत्यधिक ज्वरो र टाउको दुख्योे भने स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ । तर कुन रोग हो भनेर ठ्याक्कै थाहा पाउन भने स्वास्थ्य परीक्षण गर्नैपर्छ ।  

    के हो स्क्रब टाइफस ?
    स्क्रब टाइफस ‘ओरिन्तिया सुसुगामुशी’ नामक ब्याक्टेरियाको कारणले हुन्छ । संक्रमण भएको ‘माइट’ भन्ने परजीवीले यो रोग मान्छेमा सार्छ । तसर्थ यो किटजन्य रोगमा पर्छ ।

    यो रोग नेपालमा सन् २०१५ मा धरानमा बालबालिकामा देखिएको थियो । ती बालबालिकामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । यो रोग खासगरि मनसुन सिजनमा बढि देखिने गर्छ । 

    स्क्रब टाइफसका लक्षण टाइफाइड र कोरोना भाइरससँग पनि मिल्ने भएकाले समयमै सचेत हुन जरुरी छ । यसको समयमै उपचार नभए जटिल अवस्था आएर मृत्युसम्म हुनसक्छ ।

    लक्षण 
    यसका लक्षण संक्रमण भएको पाँचदेखि २० दिनमा देखिने गर्छन् । मुख्य कुरा माइटले टोकेको ठाँउमा घाउको कालो दाग शरीरमा देखिन्छ । यसबाहेक आँखा रातो हुने, कानमा अनावश्यक आवाज सुनिएकोजस्तो हुने, अत्यधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या, शरीरमा बिबिरा देखिने, लिम्फ ग्रन्थि सुन्निने जस्ता लक्षणहरु देखिन्छन् ।

    कुन क्षेत्रमा जोखिम बढी ?
    यो रोग तुलनात्मक रुपमा सहरी भेगभन्दा पहाडी क्षेत्रमा बढी देखिने सम्भावना हुन्छ । किनभने पहाडी क्षेत्रमा आँखाले देख्न नसकिने ‘माइट’ परजिवी मुसामा बढी पाइएको छ । गाउँघरतिर भकारी तथा घाँस धेरै हुन्छ, जसले गर्दा मुसा पनि हुन्छन् । मुसालगायत अन्य जनावरको शरीरमा भएको ‘माइट’ जमिनमा झरेर मानिसको सम्पर्कमा आउँछ । किरा कतै झरेको बेलामा आकस्मिक हाम्रो शरीरमा प्रवेश गरेर टोक्ने गर्छ । 

    कसरी बच्ने ?
    गाउँघरतिर घाँस, दाउरा गर्न जाने व्यक्तिले विशेष ध्यान दिनुपर्छ । हात ढाक्ने बाहुले कपडा लगाउने, धेरै झाडी भएको ठाँउमा नजाने, भुइँमा बस्दा केही कपडा वा कार्पेट बिच्छ्याएर बस्नुपर्छ । सरसफाईमा विशेष ध्यान दिनुकासाथै घर वरिपरि मुसा आउन नदिन विकल्प सोच्नुपर्छ । 

    उपचार
    आफूलाई कुनैपनि शंका लागे तुरुन्तै स्वास्थ्य परीक्षण गराएर समयमै रोगको पहिचान र उपचार गर्न सहज हुन्छ । शहरी क्षेत्रका अस्पतालमा परीक्षण गर्ने उपकरण सहजै उपलब्ध हुन्छन् । तर ग्रामीण भेगमा परीक्षण गर्ने उपकरण नहुँदा पहिचान गर्न गाह्रो हुन्छ । ग्रामीण भेगमा मुख्यतया तीनवटा कुरामा ध्यान दिनपर्छ  । 

    आफूलाई स्क्रब टाइफस भएको शंका लागेमा ‘डोक्सीसाइक्लिन’ नामक एन्टिबायोटिक खान सकिन्छ । यो औषधि ८ वर्ष मुनिका बच्चा र गर्भवती महिलालाई दिनु हुँदैन । तर अन्य व्यक्तिलाई अत्यधिक ज्वरो आएको छ भने औषधि खान सकिन्छ । औषधी खान दिएको २८ घण्टाभित्रमा एक्कासी ज्वरो घट्छ । यो औषधि गाउँघरतिर सुपथ मूल्यमा सहजै उपलब्ध हुन्छ । 

    ध्यानदिनु पर्ने तथ्य
    आफू बसेको गाँउ वा स्थानमा पहिले पनि स्क्रब टाइफस देखिरहने गरेकाे भए सचेत हुनुपर्छ । कोरोना र स्क्रब टाइफसको लक्षणहरुमा सामान्य अन्तर हुन्छ । तर पनि प्रयोगशालामा परीक्षण गराएपछि मात्र पत्ता लाग्ने भएकाले शंका लागेमा तुरुन्त चिकित्सकहाँ जानुपर्छ । 

    [शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनसँग गरिएकाे कुराकानीमा आधारित ]

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij