वेबटिभी खबर
सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्र्ने बताएका छन् ।
उनले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताएका हुन् ।
उनले भने, ‘विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिनुहोस् ।’
उनले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताए । उनले भने, ‘गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँदा अरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि समाजमा नराम्रो व्यक्ति बन्ने खतरा बढ्छ ।’
मन्त्री बस्नेतले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रसङ्गमा दुःखेसो व्यक्त गरे । उनले भने, ‘विद्यालय समायोजन गर्दा पनि भौगोलिकता खोलानाल, भीरपाखाका कारण विद्यार्थीलाई विद्यालय जान अप्ठ्यारो हुन्छ, त्यसैले गुणस्तरीयतामा ध्यान दिँदै विद्यार्थी बढाउनेतर्फ पनि ध्यान दिनुस् ।’
उनले नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको पाइएको बताए । उनले २८ वर्षदेखि आठ सय स्वास्थ्यकर्मी राजधानी काठमाडौं बसिरहेकाले तिनीहरुलाई दूर्गम जिल्ला पठाइएको बताए ।
उनले भने, ‘चिकित्सा शिक्षा ऐनलाई केही परिमार्जन गरी वर्षेनी २५ हजार चिकित्सक पढाउने तयारीका साथ सरकार अघि बढ्नेछ ।’
उनले १२ कक्षासममको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेकोसमेत बताए । उनले भने, ‘कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्थाका लागि मैले मेरै नेतृत्वमा प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय भइहाल्छ ।
उनले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताए । मन्त्री बस्नेतले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए ।
उनले भने, ‘शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गिण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो ।’
सो अवसरमा उनले विद्यालयको नवनिर्मित दुईतले ११ कोठे भवनको उद्घाटन गरे । कार्यक्रममा बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘विद्यालयस्तरदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकको दायित्व हो, त्यसलै विद्यार्थीहरुको मनोविज्ञानअनुसार शिक्षा दिलाउनुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij