Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

  • 309
    SHARES
  • लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

    जनकपुरधाम । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ ।

    लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार प्रदान गरिएको हो । नगद ५० हजार रुपैयाँसहित जोशीलाई सम्मान गरिएको थियो ।

    यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । पुरस्कार राशी नगद १० हजारसहित पौडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा पुरस्कृत व्यक्तित्वलाई कदरपत्र तथा नगदसहित पुस्कार प्रदान गरेका थिए ।
     
    लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार सम्मान तथा सिफारिस समितिको सिफारिसमा परिषद्ले गत भदौ २० गते गरेको निर्णयानुसार जोशीलाई ५० हजार राशिको उक्त पुरस्कार विशेष सम्मानसहित आज प्रदान गरिएको हो । 

    भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि विसं २०७७ मा स्थापित परिषद्ले २०७९ मा राष्ट्रियतर्फको पुरस्कार अग्नि खण्डकाव्यका लागि डा नवराज लम्साल र स्थानीयतर्फ विनोद विकलाई प्रदान गरेको थियो । पुरस्कार समारोहमा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुललगायतको सहभागिता रहेको थियो ।

    विसं २०५० देखि गजल र कविता लेखनमार्फत औपचारिकरूपमा साहित्यमा प्रवेश गरेका जोशी निरन्तर साहित्य साधनामा छन् । सुदूरपश्चिमलाई कर्मथलो बनाई साहित्य लेखन र साहित्यिक–सांस्कृतिक अभियानको समेत नेतृत्व गर्नुहुने जोशीका प्रायः कथामा सुदूरपश्चिम प्रदेशको परिवेश झल्काउने गरी लेखिएका छन् । 

    उनीद्वारा लिखित ‘ऐना’ कथासङ्ग्रहले विसं २०७२ मा  मदन पुरस्कार प्राप्त गरेको थियो । उनका विसं २०७५ मा प्रकाशित थारू जनजीवनमा आधारित ‘सखी’ उपन्यास र विसं २०७९ मा प्रकाशित बाआमा नामक आख्यान बहुचर्चित छन् । त्यसअघि विभिन्न फुटकर कथा, कविता र गजलका साथै ‘हत्केलामा आकाश’ ९२०५७० गजल सङ्ग्रह प्रकाशित गरेका जोशी विसं २०६० सम्म पत्रकारितासमेत थिए । जोशीले हाम्रो परामर्श साप्ताहिक,  सौगात, कोपिला, युगपुकार, मालिका र सुरभिजस्ता साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए ।

    नेपाली साहित्यमा स्नातकोत्तर गरेका उनले करिब १३ वर्षसम्म विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षणसमेत गरेका थिए । त्यसैगरी विसं २०२६ मा जन्मिएका देवराज पौडेल हाल लालबन्दी–४ सर्लाहीमा बसेर साहित्य कर्म गरिरेहका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले शिक्षणका साथसाथै साहित्य रचना र स्थानीय धार्मिक तथा पुरातात्विक खोज अनुसन्धानमा समेत संलग्न छन् । 

    पौडेलले मेडहरू (लघुकथा सङ्ग्रह २०७६), श्री लक्ष्मीनाथ चितायन महादेव (खोजमूलक कृति, २०७७), वासुदेवशरण कोइरालाका नौ दशक (जीवनवृत्तमा आधारित पुस्तक–२०८०) नामक कृति प्रकाशन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # पुरस्कार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij