वेबटिभी खबर
ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका-२ रामपुरका अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन् ।
यही कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका दुई परिवारमा भौतिक क्षति भएको थियो ।
स्थानीय एकबहादुर तोलांगी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो । तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाँडाकुँडा जलेको थियो ।
उनका अनुसार सो घटनामा करिब १६ लाख ५० हजार बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । यसैबीच, नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो ।
मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए ।
पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई एक-एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र कम्बल पनि वितरण गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij