बाँके । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन ।
बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा तीन हजार र कोहलपुर नगरपालिकामा दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन ।
‘यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झन् यसमा आकर्षण बढ्दै गएको छ’, कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भने । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।
रोकायले भने, ‘व्यावसायिक पशुपालन गर्नुभएका कृषकले बढीमा ५० हजारसम्म र साना कृषकले दुई हजारदेखि १० हजारसम्म लैजानु भएको छ, नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै हुनुहुन्छ ।’
पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा २०७५ देखि सो कार्यक्रम सुरु भएको जनाइएको छ ।
रोकायले गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि १० लाख छ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिँदै यस वर्ष चार सय गाई र भैँसीका लागि आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको जनाए ।
‘गत वर्षभन्दा यस वर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भए पनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौँ’, रोकायले भने । जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत वर्ष २४ लाख २१ हजार वितरण गरेको जनाएको छ ।
सो पालिकामा आठ सय सात गाई र भैँसीका लागि सो रकम खर्च भएको हो । आव २०७८/७९ मा गाउँपालिकाले चार सय १२ गाई र भैँसीका लागि १२ लाख ३६ हजार पशुपालक कृषकलाई सुत्केरी भत्ताका रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडगबहादुर सिंहले जानकारी दिए ।
‘यस वर्षका लागि छलफल चलिरहेको छ, तर टुंगोमा पुगेका छैनौँ’, सिंहले भने । सिंहले यस वर्षका लागि ३० लाख बजेट प्रस्ताव भएको बताए ।