वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व.नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताएका छन् ।
स्व.गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले गिरि समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको धारणा व्यक्त गरेका हुन् ।
सभापति देउवाले भने, ‘उहाँ बिपी पछिका समाजवाद बुझेको नेता हो । समाजवादका बारेमा भन्न सक्ने र ब्याख्या गर्न सक्ने नेता हो । त्यसैले उहाँले लेखेका कुरा र विचार हाम्रो पार्टीले ‘कम्पाइल्ड’ गरेर राख्नुपर्छ ।’
स्व.प्रदीप गिरि अध्ययनकर्ता मेहिनती र धेरै राजनीतिक ज्ञान भएको नेता भएको बताउँदै सभापति देउवाले उनी सधैँ प्रजातन्त्रको पक्षमा रहेको बताए ।
कांग्रेसमा कदमजम (कर्णाली, दलित, मधेसी, जनजाती, महिला) पनि स्व नेता गिरिकै धारणा भएको भन्दै सभापति देउवाले उनी सच्चा मानेमा समावेशीताको पक्षधर नेता भएको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले स्व गिरिले मधेस र पहिचानका आन्दोलनलाई अधिकारको आन्दोलन भनी सधैँ समर्थन गरेको स्मरण गरे ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्व.गिरि लोकतन्त्रका लागि संघर्षरत अभियन्ता भएको बताउँदै उनकाे योगदानलाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिए ।
नेकपा (एकीकृत समाजवादी) घनश्याम भुसालले स्व.गिरि माक्सवादका बारेमा कम्युनिस्टभन्दा बढी जानकार व्यक्तित्व भएको बताउँदै माक्सवादप्रति उनको लगाव पनि उत्तिकै रहेको उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij