Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीपहिरोबाट युना र बौडीका केही परिवार विस्थापित

बाढीपहिरोबाट युना र बौडीका केही परिवार विस्थापित

  • 334
    SHARES
  • बाढीपहिरोबाट युना र बौडीका केही परिवार विस्थापित

    बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन।

    बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका-३ युना र बौडीका केही परिवार विस्थापित भएका हुन ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जंगबहादुर सुनार, रंगमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली-३ युना र बौडीका पाँच घर भत्केको बताए।

    वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन । युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

    बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ ।

    वर्षाका कारण पूर्णरूपमा क्षति भएका युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन ।

    लगातारको अबिरल वर्षाका कारण गौमुल गाउँपालिका–३ बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन । विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन ।

    अन्य आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए । घर माथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्ती जोखिम बढेपछि ती परिवार पूर्णरूपमा विस्थापित भएका छन ।

    बाजुरा बाढी पहिरोका लागि उच्च जोखिममा पर्ने जिल्ला हो । साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भू-गर्भविद्ले सुझाव दिएका जनाइएको छ ।

    यही सिफारिसका आधारमा २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुनसकेको छैन ।

    जिल्लाका दुई हजार बढी परिवार अहिले उच्च जोेखिममा देखिन्छन् । वर्षात्का अधिकांश रात ननिदाएरै सुत्नुपर्ने अवस्था यहाँका स्थानीयको छ ।

    भिरालो र पाखो जमिन, चारैतर्फबाट पहिराको डर र बेला-बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् ।

    पहिराको प्रकोपबाट उच्च जोखिममा दर्जनौँ बस्ती रहेपनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको देखिँदैन ।

    बाढी र पहिरोबाट दर्जनौँ बस्तीका स्थानीय विस्थापित हुने र जोखिममा पर्ने गरेका भएपनि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी कार्ययोजना बनाएका छैनन् ।

    विपद्मा के गर्ने भन्ने कार्ययोजना नबन्दा उनीहरूलाई राहत र उद्धारकार्यमा समस्या हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij