Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लम्पी स्किन रोगको संक्रमण बढेपछि काभ्रेमा खोप अभियान सुरू

लम्पी स्किन रोगको संक्रमण बढेपछि काभ्रेमा खोप अभियान सुरू

  • 309
    SHARES
  • लम्पी स्किन रोगको संक्रमण बढेपछि काभ्रेमा खोप अभियान सुरू
    काभ्रे । काभ्रे जिल्लामा करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण भएपछि यसविरूद्ध ‘खोप अभियान’ थालिएको छ ।
     
    गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँमा पहिलो पटक देखिएको लम्पी स्किन संक्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
     
    संक्रमण थप फैलिन नदिने उद्देश्यले खोप अभियान सुरु गरिएको केन्द्रका निमित्त प्रमुख डा.कार्कीले बताए । उनका अनुसार जिल्लामा पहिलो पटक धुलिखेल-२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’को संक्रमण देखिएको थियो ।
     
    पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लम्पी स्किन रोग लाग्ने डा.कार्कीले जानकारी दिए । उनका अनुसार दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहमा गरी ३५ हजार पशुमा संक्रमण देखिएको छ ।
     
    नमोबुद्ध नगरपालिका तथा महाभारत र खानीखोला गाउँपालिका बाहेकका स्थानीय तहमा लम्पी स्किन रोगविरूद्ध पशुमा ‘एन-सिल्ड’ नामक खोप लगाउन थालिएको डा.कार्कीले जानकारी दिए । ‘क्रमशः सबै स्थानीय तहमा खोप लगाउँदै जानेछौँ’, डा.कार्कीले भने, ‘स्वस्थ पशुलाई मात्रै खोप लगाउन मिल्छ ।’
     
    हाल केन्द्रले दश हजार डोज खोप खरिद गरी स्थानीय तहमा वितरण गरेको छ । स्थानीय तहको तथ्यांक अनुसार जिल्लामा करिब एक लाख ५२ हजार गाई रहेका छन । रोगको संक्रमण बढे्सँगै स्थानीय पशुपालक किसान चिन्तित बनेका छन ।
     
    डा.कार्कीले उक्त रोगका कारण जिल्लामा हालसम्म ४५ गाई र एक भैँसी मरेको जानकारी दिए । उनका अनुसार ३५ हजार संक्रमित पशुमध्ये दुई हजार भैँसी छन् ।
     
    ‘पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा संक्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा पनि उक्त रोग देखिन थालेको छ’, डा.कार्कीले भने ।
     
    लम्पी स्किन रोग देखिएका पशु राखिएको स्थानभन्दा करिब एक किलोमिटर वरिपरिका पशुलाई खोप नलगाई त्यसभन्दा परका स्वस्थ पशुलाई खोप लगाइएको छ ।
     
    जिल्लामा देखिएको रोगका कारण ४५ लाख हाराहारीमा पशुधन क्षति हुनुका साथै छ करोड बराबार दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो ।
     
    जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको डा.कार्कीले जानकारी दिए । केन्द्रले लम्पि स्किन विरूद्धको थप मात्रा खोपका लागि वाग्मती प्रदेश सरकारसँग माग गरिएको छ ।
     
    ‘रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरी साना, ठूला गिर्खा तथा फोका देखिन्छ’, डा.कार्कीले भने, ‘रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूघ उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।’
     
    लम्पी स्किन संक्रमण १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij