Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

धानको बीउ सुक्न थालेपछि, किसान चिन्तित

धानको बीउ सुक्न थालेपछि, किसान चिन्तित

  • 259
    SHARES
  • धानको बीउ सुक्न थालेपछि, किसान चिन्तित

    बाँके । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन । आकाशे पानीको भरमा रहेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि चिन्तित भएका हुन ।

    असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आंकल गरेका छन । बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताए ।

    ‘मेरो घरमा मोटर भए पनि कम भोल्टेजका कारण मोटरले पानी नै तान्दैन’, विष्टले भने, ‘बल्लबल्ल ‘स्टेप्लाइजर’को सहायतामा पानी तानेर बीउ राखेकामा अहिले सिँचाइ नगर्दा बीउ सुक्दै गएको छ ।’

    असारको पहिलो सातादेखि रोपाइँ गर्ने उद्देश्यले विष्टले जेठको दोस्रो साता धानको बीउ राखेका थिए । असार लागिसक्दा पनि पानी नपरेपछि धानको बीउ सुकेर खजुराका लालबहादुर खत्री चिन्तित छन ।

    उनले छिमेकीको मोटरबाट पानी तानेर बीउ राखेका थिए । बीउलाई पटक-पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बीउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको खत्रीको भनाइ छ ।

    ‘बीउ त छिमेकीको मोटरबाट पानी तानेर राखियो । असार लागिसक्दा पनि आकाशबाट पानी परेको छैन । बीउ सुक्न थालिसक्यो । बीउ रोखेको जमिन चिरा परेको छ’, खत्रीले भने ।

    बाँके बैजनाथका किसान मानबहादुर परियारले आकाशे पानीको पखाइमा धानको बीउ राख्न ढिला भएपछि हाते पम्प चलाएर बीउ राखेको बताए ।

    ‘घरमा मोटररबोरिङ केही पनि छैन । पानी नपरेपछि हाते पम्प चलाएर बीउ राख्यौँ’, परियारले भने, ‘तीन पटक हाते पम्प चलाएर बीउमा पानी चारेर जसोतसो पानी पुर्‍याइरहेका छौँ । रोपाइँ कसरी गर्ने हो भन्ने चिन्ता लागेको छ ।’

    आकाशे पानीको भरमा खेती गनुपर्ने भएकाले धान खेती प्रभावित हुन सक्ने उनको भनाइ छ । ‘गत वर्ष बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएको थियो । यस वर्ष जिल्ला पूरै  सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको छ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले भने ।

    सिँचाइको उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लो पटक बढ्दै गएको गर्मीले निराश बनाएको छ । प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुुरी, राप्तिसोनारी र बैजानाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए ।

    ‘मनसुन समयमा नहुँदा सिक्टाले केही भागमा पानी छोडे पनि सिँचाइका लागि त्यो पानी पर्याप्त छैन,’ प्रमुख अहमदले भने, ‘सिक्टाबाट छोडिएको पानी नहर आसपासका खेतलाई मात्र पुग्छ । पूरै जिल्ला सिञ्चित हुँदैन । नहर आसपासका किसानलाई भने केही राहत मिल्छ ।’

    जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष  सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएको छ ।

    असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने प्रमुख अहमदले जानकारी दिए । उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान उत्पादन राम्रो हुने बताए ।

    मनसुन अनुकूल नभएकाले किसानलाई कम समयमा उत्पादन हुने र सुक्खा सहन सक्ने जातको बीउ लगाउन सुझाव दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij