वेबटिभी खबर
नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रूपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी देखिन्छिन् ।
विभिन्न सम्मेलन, गोष्ठी होस् वा बहिरा व्यक्तिलाई आवश्यकता परेको खण्डमा अस्पताल, प्रहरी कार्यालय, अदालत आदि ठाउँमा बहिरा व्यक्तिहरूका लागि दोभासे सेवा दिन पुग्छिन् । बहिराहरूलाई समाजको मूलधारसँग जोड्ने कर्ममा रहेकी शर्मा बहिराहरूसँग जोडिएका विषयमा अध्ययन र अनुसन्धान गर्न पनि उत्तिकै रुचि राख्छिन् ।
विगत दुई दशकदेखि शर्माले साङ्केतिक भाषाको क्षेत्रमा प्राज्ञिक कर्म गर्दै आइरहेकी छिन् । वि.सं. २०६० मा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि ‘नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप’ शीर्षकमा शोध कार्य गरेर त्यसलाई पुस्तकको आकार दिएकी थिइन् ।
शर्माले २०७४ मा राष्ट्रिय बहिरा महासंघ नेपालबाट प्रकाशित ‘नेपाली साङ्केतिक भाषाको शब्दकोश’ मा सह–लेखन समेत गरेकी थिइन् । २०७६ मा भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि शर्माले ‘नेपाली साङ्केतिक भाषाको समास’ शीर्षकमा शोध कार्य पनि गरेकी थिइन् ।
२०७८ मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘मातृभाषाको रुपरेखा भाग–२’ मा शर्माको ‘नेपाली साङ्केतिक भाषाको रुपरेखा’ शीर्षकमा लेख समेत प्रकाशित छ । साङ्केतिक भाषाप्रतिको यही लगाव र निरन्तरको कर्मले जगाएको हुटहुटीले होला शर्माले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पाठकमाझ ल्याएको छ । यस अध्ययनमा मुख्यत: नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ ।
नेपाली साङ्केतिक भाषाको आफ्नै पहिचान छ । यस भाषाले आफ्नै मौलिकता बोकेको छ । नेपाली साङ्केतिक भाषाको विकास क्रमशः अगाडि पनि बढिरहेको छ । नेपालमा बोलिने १२५ भाषामध्ये साङ्केतिक भाषा पनि एउटा हो । यो भाषालाई बहिरा व्यक्तिहरूको संचारको माध्यमको एक महत्त्वपूर्ण हिस्साका रूपमा नेपालको संविधानले स्वीकार गरेको छ ।
तर, बहिरा समुदायको पहिलो भाषाको रुपमा रहेको नेपाली साङ्केतिक भाषाका विषयमा अध्ययन अनुसन्धानका कार्य भने निकै कम भएका छन् । यस्तो स्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागका पूर्वप्रमुख प्रा.डा.योगेन्द्र प्रसाद यादवलाई साधुवाद भन्नैपर्छ जसले शर्मालाई यो पुस्तक प्रकाशनका लागि अनुसन्धान कार्य गर्न प्रोत्साहित गरे ।
शिलु शर्माले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पाठकमाझ ल्याएको छ । यस अध्ययनमा मुख्यत: नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ ।
शर्माले सम्पन्न गरेको ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ अध्ययन आफैंमा सराहनीय कदम भएको यादवको भनाइ छ । त्यही अध्ययनको प्रतिफल यो पुस्तकको जन्म हुन पुग्यो । प्रज्ञा प्रतिष्ठानको भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको परियोजनाअन्तर्गत शर्माले सम्पन्न गरेको यस कृतिबाट नेपाली साङ्केतिक भाषाका विभिन्न पक्षहरूबारे जानकारी पाउन सकिन्छ ।
नेपाली साङ्केतिक भाषा एउटा पृथक् भाषा हो । २०६८ को जनगणना अनुसार बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूको संख्या ७९,३०७ थियो भने २०७८ को जनगणना अनुसार बहिरा व्यक्तिको संख्या ५१३७३ तथा सुस्तश्रवण व्यक्तिको संख्या ५१५२० छ ।
राष्ट्रिय बहिरा महासङ्घ नेपाल अनुसार यस भाषाको प्रयोग गर्ने नेपाली बहिरा समुदायका व्यक्ति वा यस भाषाको वक्ता संख्या झण्डै ३ लाखदेखि ५ लाखको हाराहारी मा रहेको छ ।पुस्तकमा साङ्केतिक भाषामा स्टोकेइ–मोडेल,लिडेल–जोन्सन मोडेल,औँला हिज्जेदेखि यस भाषामा आएका परिवर्तन लगायतका विषयहरू समेटिएका छन् । यतिमात्र होइन पुस्तकमा युवा बहिराहरूले चलनचल्तीमा ल्याएका साङ्केतिक शब्दहरूलाई पनि स्थान दिइएको छ ।
पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ । साङ्केतिक भाषाको पृष्ठभूमि, इतिहासका साथै यो भाषाको व्याकरणीय पक्षबारे जानकारी गराइएको छ ।
‘नेपाली साङ्केतिक भाषाको व्याकरणबारे चर्चा गरिए तापनि सम्पूर्ण व्याकरण भने होइन । नेपाली साङ्केतिक भाषाको व्याकरणको थप अनुसन्धान गर्न बाँकी नै रहेको’ लेखक शर्मा बताउँछिन् ।
नेपाली साङ्केतिक भाषाका वर्ण, शब्द, वाक्य र संकथनका तहमा गहन अध्ययन र अनुसन्धानका क्षेत्रमा लाग्न भावी अध्ययन कर्ताका लागि यो पुस्तक उपयोगी बन्न सक्छ । पुस्तक विद्यालयस्तरमा नेपाली साङ्केतिक भाषाको शिक्षणका साथै यस क्षेत्रका अनुसन्धाता तथा अध्येताका लागि ठूलो आधार र उत्तिकै सहयोगी हुन सक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij