Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

साइपालका विद्यालय एक महिनासम्मका लागि बन्द

साइपालका विद्यालय एक महिनासम्मका लागि बन्द

  • 232
    SHARES
  • साइपालका विद्यालय एक महिनासम्मका लागि बन्द

    बझाङ । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ ।

    अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा संकलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन ।

    उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा संकलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए ।

    प्रधानाध्यापक धामीले भने, ‘विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।’

    बन्द गरिएका विद्यालयका विद्यार्थी बेँसी झरेपछि असार १ गतेतिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ ।

    उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा संकलनमा गएपछि बन्द गरे जस्तै भएका छन ।

    उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरेपनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए ।

    गाउँपालिका अध्यक्ष बोहराले भने, ‘वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भई यार्सा संकलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।’

    आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा संकलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

    अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अंक ल्याउने गरेका शिक्षकहरू बताउँछन् ।

    यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा संकलन गर्न लेकतिर जाने गर्दछन् ।

    ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले जानकारी दिए ।

    बझाङको साइपाल गाउँपालिकामा यार्सा संकलनकर्ताबाट सात लाख नौ हजार राजस्व संकलन भएको छ ।

    यही वैशाख १० गतेदेखि यार्सा संकलनका लागि बन खुल्ला गरिएको थियो । सोही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा संकलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij