वेबटिभी खबर
बाँके । बाँकेमा डेंगुको संक्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँच जनामा डेंगु पुष्टि भएको हो ।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए ।
उनका अनुसार कोहलपुर-२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेंगु देखिएको हो । उनीहरू सबैमा रोगको लक्षण देखिएको छ ।
अस्पतालका डा.रवि शर्मा वाग्लेले संक्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए । डा.वाग्लेका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेंगु संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेंगुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij