वेबटिभी खबर
बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् ।
नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन् ।
मन्त्री शाहले भने, ‘केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।’
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिए । मन्त्री शाहले भने, ‘पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पुर्याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।’
पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाए ।
मन्त्री शाहले भने, ‘मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।’ सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करूपमा लगानी गर्न आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij