वेबटिभी खबर
काभ्रे । तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ ।
तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो ।
आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ मिटर, पनौती नपाले चार हजार तीन सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छ सय २६ मिटर पाइपमा क्षति पुर्याएको छ ।
क्षतिका कारण आयोजनाको एक करोड १६ लाख ३९ हजार ६५ बराबरको नोक्सान भएको हो । निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ ।
बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए ।
‘सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा बेहोर्नु पर्नेछ’, नगरप्रमुख शाक्यले भने ।
पाँच मुहानबाट पानी संकलन गरिने आयोजनाको तीन सय ३८ किलोमिटरमध्ये हालसम्म दुई सय ९८ किमीमा पाइप बिछ्याइएको छ । २०१२ डिसेम्बर १९ मा २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
करिब एक अर्ब लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एशियाली विकास बैंक (एडीबी)ले आयोजनाबाट हात झिकिसकेको छ ।
तीन वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन ।
गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो ।
चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ ।
शाक्यले भने, ‘नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ ।’
ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इङले २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए ।
वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती-खोपासी सडक, पनौती-बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ ।
आयोजनाको रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ । पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ ।
मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । तीन नगरका एक हजार एक सय १४ धाराको इन्टर-कनेक्सन गरिएको छ ।
यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij