Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपतिमा निर्वाचित यादव को हुन् ?

उपराष्ट्रपतिमा निर्वाचित यादव को हुन् ?

  • 277
    SHARES
  • उपराष्ट्रपतिमा निर्वाचित यादव को हुन् ?

    काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

    यादवको जन्म वि.सं २०१७ साउन ९ गते बुवा स्व.प्रसादराय यादव र आमा स्व.सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा-८ बसवरियामा भएको हो ।

    उनका दुई दाजुभाई तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती दुई छोरा र एक छोरी पनि रहेका छन् । उनी वि.सं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए ।

    यादव गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा-२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघिबाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा आबद्ध थिए । तत्कालीन समयमा उनी बारा कलैयामा अवस्थित श्री पन्नादेवी कन्या माविमा  विज्ञान र गणित विषयको शिक्षकको रूपमा कार्यरत थिए ।

    भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा संकायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

    नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनले उच्च शिक्षा लिई भारतको सीतामढीबाट बीएससी अध्ययन गरि फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो ।

    उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

    सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुन् ।

    राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका हुन् ।

    त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने वि.सं २०६५ मा उनी पार्टी महासचिव भएका थिए । यादव स्वच्छ तथा इमान्दार छविका नेताको रूपमा चिनिन्छन् ।

    उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएको थिए ।

    वि.सं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत छन् ।

    पार्टी तथा सरकारको प्रतिनिधि भई उनले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij