वेबटिभी खबर
काठमाडौं । भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।गठबन्धनले बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
विपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपालपक्ष), जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, एमालेका अध्यक्ष रजन केसी, जसपाका अध्यक्ष श्याम शिल्पकार र राजमोका अध्यक्ष शिवहरी खनालले हस्ताक्षर गरेर ज्ञापनपत्र प्रजिअ भट्टराईसमक्ष बुझाएका हुन् ।
नेताहरुको टोली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएपछि प्रजिअ भट्टराईले आफूले उक्त पत्र प्रधानमन्त्रीले प्राप्त गर्ने गरी पठाइदिने प्रतिवद्धता प्रकट गरेकाे कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले बताए ।
उक्त ज्ञापनपत्र माओवादी केन्द्रका नेता ढकालले वाचन गरेर सुनाएका थिए भने ज्ञापनपत्र नेपाली कांग्रेसको पार्टी कार्यालयमा बैठक बसी तयार पारिएको ढुंगेलले बताए । सरकारले संविधान कुल्चिएर चालेका सबै कदम खारेज गरी देशलाई संवैधानिक बाटोमा हिंडाउन ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमार्फत विपक्षीहरुले कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न र तत्काल आमनागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्न, नागरिकको निःशुल्कउपचारको व्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधि र उपकरणको व्यवस्थापनको माग गरेका छन् ।
जारी निषेधाज्ञामा अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिड विरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्र सेवकको मनोबल उच्च राख्न शतप्रतिशत भत्ताको व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।
विद्यार्थीलाई पठन-पठनको वैकल्पिक व्यवस्था मिलाउन, किसानले उत्पादन गरेको उपजलाई बजारीकरणको व्यास्था गर्न, कृषि बीउविजनको व्यवस्था गर्न, व्यवसायीहरुलाई किस्ता तिर्ने समय थप गरी लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुर्न कर्जाको व्वस्था गर्नलगायतका माग राखेका छन् ।
राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीकै कार्यालयबाट जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको र यस माथिनिरन्तर प्रहार भइरहेको विपक्षी गठबन्धनको ठहर छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij