Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 

पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 

  • 313
    SHARES
  • पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 

    मुगु । छायाँनाथ रारा नगरपालिका-८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने ।

    पिठ्युँमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन्।

    परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उनी रारामा दौडिने गर्दछन् । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन ।

    ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँछन् । विगतका वर्षहरूमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रूपैयाँसम्म दिने गरेका थिए ।

    अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्यामा कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन चलाउन सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ-धौ रहेको उनले बताए ।

    रारा ताल घुम्न आउनेको संख्या कमि भएपछि मुगुका घोडा व्यवसायीलाई समस्या भएको हो । दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रूपैयाँसम्म आम्दानी गरेको अर्को घोडा व्यवसायी पप्पु तिरुवाले बताए ।

    उनका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रूपैयाँ लिने गरेका छन ।

    घोडा चढेको शुल्कमा एकरूपता नहुँदा व्यवसायीको मनपरी कायमै छ । घोडा चढेको शुल्क निर्धारण नहुँदा पर्यटकहरू ठगिने गरेका छन । रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ ।

    हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १०  देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij