Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो

  • 346
    SHARES
  • खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो

    पर्वत । लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन घटेको पाइएको छ ।

    पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

    व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए ।

    खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।

    जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए ।

    उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ ।

    उनले भने, ‘सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ ।’

    पर्वतमा आकासे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाले बताए ।

    तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ ।

    त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरु मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ ।

    कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरुसमेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

    जिल्लामा करिब आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भएपनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बन्द हुँदा झनै समस्या भएको छ ।

    सानातिना मूलहरुको भरमा खेतीपाती गर्दै आएका कृषकहरुमा खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ ।’

    अर्कोतर्फ पिउने पानीका मुहानहरू सुक्न थालेका छन् । यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij