Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सेलरोटी व्यवसायमा जमेका नन्द-भाउजु

सेलरोटी व्यवसायमा जमेका नन्द-भाउजु

  • 308
    SHARES
  • सेलरोटी व्यवसायमा जमेका नन्द-भाउजु

    सुनसरी । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् ।

    सेलरोटी बनाउन जान्ने उनीहरूलाई घरमा वा छिमेकका पूजापाठ विवाह, व्रतबन्ध लगायत विभिन्न कार्यमा सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरू पनि उक्त कामलाई कुनै झर्को नमानी पूरा गरिदिन्थे ।

    २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द-भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए ।

    वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी खाएपछि सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो । वार्षिकोत्सवमा सहभागी भएकाले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा १०० वटा सेलरोटीको अर्डर दिए ।

    नन्द, भाउजुले भोलिपल्ट १०० सेलरोटी पकाएर सहभागीको घरैमा पुर्याइदिए । त्यहाँ पनि सेलरोटीको प्रशंसा भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।

    इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द-भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द-भाउजुले सोखका रूपमा थालेको सेलरोटीले विस्तारै व्यवसायीक रूप लियो । सेलरोटीको माग बढ्दै गएपछि उनीहरूले कम्पनी दर्ता गरेर सेलरोटी पकाए बिक्री गर्न थालेको सुनाउँछन् ।

    उनीहरूले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’दर्ता गरेर सेलरोटीको व्यवसाय गरिरहेका छन् । उक्त उद्योगमा अन्य पाँच जनाले जागिर पनि पाएका छन् । अहिले उनीहरूले सेलरोटी मात्र नभएर अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौँ चना मिश्रित सातु पनि उत्पादन गरिरहेका छन् ।

    हाल विराटनगर-२ स्थित शंकरपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो-२०७९’मा पनि उनीहरुले स्टल राखेका छन् । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।

    एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आएको बताए । उनीहरूले एउटा सेलरोटीलाई ३० रूपैयाँमा बिक्री गर्दै आएका छन् । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउँछिन् ।

    उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु गरेको बताइन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको उनको भनाइ छ । मिश्रका अनुसार उनीहरूले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।

    सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij