Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

च्याउको बीउ उत्पादनमा सक्रिय गृहिणी महिला

च्याउको बीउ उत्पादनमा सक्रिय गृहिणी महिला

  • 347
    SHARES
  • च्याउको बीउ उत्पादनमा सक्रिय गृहिणी महिला

    महेन्द्रनगर । लालझाडी गाउँपालिका-३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय छिन् ।

    पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएकी उनी पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहेकी छिन् ।

    ‘धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी हुँदो रहेछ’, राधिकाले भनिन्, ‘फुर्सदको समयमा गाउँमै च्याउ उत्पादन गर्ने सानो उद्योग सञ्चालन गरेर आयआर्जनमा जुटेका छौँ ।’

    सामान्य लेखपढ गरेकी रानाले एक दिने च्याउको बीउ उत्पादन गर्ने तालिम लिएर अहिले मेसिन चलाउन सक्ने भएको उनले जानकारी दिइन् । राधिका जस्तै पर्सियाका राना थारु समुदायका महिला दातृ तथा स्थानीय वडा कार्यालयको सहयोगमा च्याउको बीउ उत्पादनमा जुटेका हुन् ।

    यस्तै लालझाडी-३ की महिला वडा सदस्य शान्ति रानाले च्याउ उत्पादन तथा वितरण महिला समूहको नेतृत्व गरेकी छिन् । ‘कन्या जातको च्याउको बीउ उत्पादन गरेर बिक्रीका लागि धनगढी, गोदावरी र बेलौरीलगायतका बजारसम्म पुग्छ’, शान्तिले भनिन्, ‘गत वर्ष तीन क्विन्टल च्याउको बीउ बिक्री गरेका थियौँ ।’

    उनले अहिले नौ क्विन्टल बीउ तयार गरिएको जनाउँदै खपतको कुनै समस्या नरहेको बताइन् । ‘च्याउको बीउ प्रतिप्याकेट ८० मा बिक्री हुन्छ’, उनले भनिन्, ‘च्याउ उत्पादनमा गाउँबस्तीमा कृषक आकर्षित हुँदै गएका छन् ।’

    चालु आर्थिक वर्षमा च्याउको बीउ उत्पादनमा वडा कार्यालयबाट ५० हजार अनुदान प्राप्त भएको छ । ‘उत्पादन गरेको बीउ दुई महिनाभित्र खपत भएन भने खराब भइसक्छ’, रानाले भनिन्, ‘बीउ बिक्रीबाट भएको मुनाफा उद्योगमै लगानी बढाउने काम भएको छ ।’

    उनले घरको गृहिणी जीवन बिताइरहेका राना थारु महिला पछिल्लो समय च्याउ उत्पादनका साथै विभिन्न आयमूलक काममा लागि परेको जानकारी दिइन् ।

    ‘यहाँ पालिकाले पनि हामीबाट पाँच क्विन्टल बीउ खरिद गरेर कृषकलाई वितरण गरेको थियो’, उनले भनिन्, ‘अब च्याउ उत्पादनमा लागेका किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था रहेन ।’

    स्थानीय रेखा रानाले च्याउको बीउ उत्पादन गर्ने मेसिनलगायत प्राविधिक सहयोग नेपाल राष्ट्रिय समाज कल्याण संघबाट प्राप्त भएको बताइन् ।

    ‘हाम्रो महिला समूहबाट ६५ हजार लगानी भए पनि राष्ट्रिय समाज कल्याण संघबाट चार लाख ४० हजार मेसिन खरिदलगायतमा भयो’,रेखाले भनिन्, ‘महिलालाई आयमूलक काममा लगाउन दाताले गरेको सहयोगले हामीलाई पनि सहज भयो ।’

    उनले बीउ उत्पादनबाट भएको आम्दानी समूहमा बचतसमेत गर्ने गरेको बताइन् । ‘च्याउको बीउ उत्पादनसँगै च्याउखेती गर्ने योजनामा पनि हामी छौँ’, रेखाले भनिन्, ‘अब गृहिणी पनि आयमूलक काममा लागेर मुनाफा आर्जन गर्न सक्छन् भन्ने उदाहरण पनि हो ।’

    पालिकासँगै दाताको सहयोगले पछिल्ला वर्षमा आफ्नो समुदायका कृषक नगदेबालीका रूपमा तरकारी खेती, च्याउखेती, कुखुरा तथा बंगुरपालनलगायतका काममा सक्रिय रहेको उनको भनाइ छ ।

    नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का उत्पादन परियोजना संयोजक विनोदविक्रम जैरुले परियोजनाअन्तर्गत लालझाडीमा महिलालाई च्याउ उत्पादनमा सहयोग गरिएको बताए ।

    ‘परियोजनाअन्तर्गत च्याउको बीउ उत्पादन, खेतीदेखि माछापालनलगायतका आयमूलक काममा आर्थिक तथा प्राविधिक सहयोग गरिँदै आएको छ’, उनले भने, ‘महिलालाई आर्थिकरूपमा सबल बनाएर आत्ननिर्भर होउन भनेर पनि दाताको सहयोग रहँदै आएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij