Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

चितवनमा एकै समय तीन महोत्सव हुने

चितवनमा एकै समय तीन महोत्सव हुने

  • 314
    SHARES
  • चितवनमा एकै समय तीन महोत्सव हुने

    चितवन । चितवन जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो ।

    उद्योग वाणिज्य संघ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ ।

    यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं-७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका-५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ ।

    यस्तै उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदै छ ।

    चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताए ।

    उनका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ । सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन् ।

    विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ । २०७० बाट सुरु भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ ।

    माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सान’ बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो ।

    महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषाा सहित संस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उनले जानकारी दिए ।

    महोत्सवमा एक सय ३० वटा स्टल रहने छन् । ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलाकन गर्ने अनुमान गरिएको छ । यस्तै खैरहनी महोत्सव तीन सय स्टल रहनेछन् ।

    आयोजक समितिका संयोजक एवम् खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो । यसअघि २०७५ मा महोत्सव आयोजना गरिएको थियो ।

    हरेक दुई दुई वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरूमा महोत्सव हुन सकेको थिएन । खिचरा महोत्सव त्यसै समयमा परेकाले एक दुई दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ ।

    यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढंगले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उनले बताए । महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

    उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष कँडेलले भने, ‘यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ ।’

    उद्योग वाणिज्य संघ चितवका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव हाटबजारजस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij