वेबटिभी खबर
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रहरूमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरू नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ।
मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरूले बताएका छन् । विगतका वर्षहरूको तुलनामा यस वर्ष अत्यधिक रूपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पुर्याउनुका साथै कुकाठको नाममा सामुदायिक वनहरूले चिउरी, पैयुँ र दुदिलाका बोटहरू काट्दा पुष्परसका बोटको अभावले मह उत्पादनमा कमी आएको उनीहरूको भनाइ छ ।
जिल्लाका बेनी नगरपालिकालगायत मंगला, धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरलगायत गाउँमा व्यावसायिक रूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका छन्।
मालिका गाउँपालिका-२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयुँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए ।
जैसीले विगतका वर्षहरूभन्दा यो वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोटहरू ढालिएकाले विगतको तुलनामा यो वर्ष आधा मात्र मह उत्पादन भएको जानकारी दिए ।
‘मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुका कारण पुष्परसमा कमी आउनु नै हो’, जैसीले भने ।
मंगला गाउँपालिकाका कृषि प्राविधक जगत बानियाँले अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारण पुष्परसमा कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए ।मौरीको गोलाको संख्या अत्यधिक रूपमा बढिरहेको छ ।
कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेषगरी पुष्पजन्य बोटबिरूवा लगाउन अनुरोध गरेको छ ।
जिल्लामा मौरीपालक कृषकहरूको संख्या बढ्दै गइरहेको छ । जिल्लाका छ वटा स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाहरुले जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij