वेबटिभी खबर
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले जग्गा वर्गीकरण कार्य टुंग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ ।
अब रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ । जनकपुर उद्योग वाणिज्य संघ लगायतले जग्गा वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गर्दै आएका थिए ।
उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको बताए । उनले भने, ‘जग्गा वर्गीकरणको क्रममा सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको आठ धुर जग्गा कित्ताकाट हुने यथावत छ ।’
उनले कृषि क्षेत्रको जग्गा दुई कट्ठाभन्दा कम्तीको कित्ताकाट नहुने जानकारी दिए । वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको छ ।
‘जग्गा धनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिकामा निवेदन दिन सक्छन्’, मेयर साहले भने । जग्गाको वर्गीकरण भए पनि करमा कुनै प्रकारको वृद्धि नगरिएको उनको भनाइ छ ।
जग्गा वर्गीकरण गरिएको निर्णय शुक्रबार नापी र मालपोत कार्यालयलगायतका निकायमा पठाइएको प्रमुख साहले जानकारी दिए । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो जसले गर्दा जग्गाको बेचबिखनसमेत रोकिएको थियो ।
उपमहानगरपालिकाले वर्गीकरण टुंग्याएपछि केही दिन जग्गाको खरिदबिक्रीमा तीव्रता आउने बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले वर्गीकरण टुंग्याए पनि धनुषा जिल्लाका अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेको छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij