वेबटिभी खबर
तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट ९ सय १४ जना महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ ।
महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको पाँच वटा वडाका महिलाले सेवा लिएका हुन् । यसमध्ये ३६ महिलामा भिआई ‘ए’ पोजेटिभ देखिएको छ।
पोजेटिभ देखिएका महिलालाई थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए । शिविरमा महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन एवम् परामर्श सेवा दिइएको छ ।
परिवार नियोजन परामर्श, कोभिड १९ विरूद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप, आयुर्वेद, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलव्ध गराइएको छ । जन्म, मृत्यृ, बसाइँ, सराई, एवम् सम्बन्ध बिच्छेदका दर्ता समेत हुनेछ ।
व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन,ज्येष्ठ नागरिक एवम् अपाङ्गता परिचय पत्र वितरण हुनेछ । बीउबिजन बितरण एवम् कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्तर्गत गोबर परिक्षण सेवा रहेको छ ।
त्यसैगरी नतिजाको आधारमा पशु पक्षीलाई औषधि वितरण, बाख्रापाठा एवम् बहर बन्ध्याकरण एवम् बिरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना संम्झौता हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शिविर कात्तिक ४ गतेसम्म चल्ने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij