Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काभ्रेमा एकतीस दल, तीन लाख बढी मतदाता

काभ्रेमा एकतीस दल, तीन लाख बढी मतदाता

  • 399
    SHARES
  • काभ्रेमा एकतीस दल, तीन लाख बढी मतदाता

    काभ्रे । काभ्रेमा ३१ दल क्रियाशील छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित अन्य दल क्रियाशील रहेको धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।हाल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्लामा दल दर्ता गरेको उक्त कार्यालयले जनाएको छ ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, सामाजिक एकता पार्टी, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगो नेशनल अर्गनाइजेसन, नेपाल कांग्रेस (बिपी), नेकपा माले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, नेकपा माओवादी समाजवादी, नेपाल परिवार दल, नेकपा परिवर्तन, उन्नत लोकतन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी, समाजवादी केन्द्र नेपाल, मौलिक जरोकिलो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी र नेपाःराष्ट्रिय पार्टी काभ्रेपलाञ्चोकमा क्रियाशील रहेका छन् ।

    कार्यालय प्रमुख उमेशकुमार राईका अनुसार ३१ दलले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् । दर्ता भएका ३१ दलबाहेक अन्यले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने उनले बताए ।

    गत वैशाखमा स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिन्हका लागि निवदेन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ भने यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    मनोनयनका लागि आज मध्याह्न १२ बजेसम्म साना दल, १ बजेसम्म गठबन्धनका दल तथा १ बजेपछि नेकपा (एमाले) र स्वतन्त्रसहित बाँकी रहेका दलका लागि समय निर्धारण गरिएको जनाइएको छ ।

    जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं-१ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं-२ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा क्षेत्र नं-२ र त्यसअन्तर्गतका दुई प्रदेशमा निर्वाचनका कामसमेत गर्ने जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् ।

    जिल्लामा एक सय ९० वटा मतदानस्थलका साथै तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।

    कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं-१ मा कूल मतदाता एक लाख ५२ हजार छ सय ९९ छन् भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं-२ मा एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij