वेबटिभी खबर
ब्राजाभिल्ले । अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।विश्व स्वास्थ्य संगठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् । यो वार्षिक रूपमा लिइएको तथ्यांक हो । विश्वव्यापी रूपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ ।
यहाँ मानसिक रोग भएका नागरिकहरूको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरूको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो ।
अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ । सन् १९९० मा मानसिक रोग भएका मानिसहरूको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो संख्या बढेको हो । मानिसहरूको उपचार तथा उनीहरूका समस्याहरूको सहजीकरण गरिने भएको छ ।
यहाँ सामाजिक सञ्जालहरूबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो । यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो संगठनले जनाएको छ ।
यहाँका आमसञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जालहरूमा चेतनामूलक सामग्रीहरू प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरू प्रेषित गरिने जनाइएको छ ।
त्यस्तै मानसिक रोग भएकाहरूको उपचारका लागि पनि विश्व स्वास्थ्य संगठनले विभिन्न देश र क्षेत्रहरूमा अभियान थाल्ने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij