Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विदेशमा रहेका नेपालीले यसरी मनाए दसैँ

विदेशमा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 506
    SHARES
  • विदेशमा रहेका नेपालीले यसरी मनाए दसैँ

    वाशिङ्गटन डिसी/अमेरिका । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा बडादसैँ मनाएका छन् ।

    अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् ।

    नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरूपमा दसैँ पर्व मनाएका हुन् ।

    अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

    नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनियालगायतका क्षेत्रमा नौरथा सुरू भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन् ।

    पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने संख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ ।

    एकै स्थानमा ४०–५० को संख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

    विगत १६ वर्षदेखि न्यूयोर्कमा बस्दै आएका भागवत शर्माले दसैँका लागि भनेर एक महिना पहिला नै आफू काम गर्ने कम्पनीबाट बिदा लिएर बसेको बताए ।

    उनले भने,‘एक दशकअघिको तुलनामा अहिले दसैँ मनाउने समूह बढ्दै गएको छ ।’ उनको अनुभवमा एक दशकअघिसम्म जमरा राख्न पनि गाह्रो पर्ने गरेकामा विगत चार पाँच वर्षयता जमरा राख्न सजिलो भएको र जमघटमा पनि बाक्लो उपस्थिति हुने गरेको छ । यसरी अमेरिका बसोबास गर्ने नेपालीबीच पनि दसैँ मनाउनेक्रम बढ्दै गएको देखिएको छ ।

    शर्मा भन्छन्,‘पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्त्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।’

    कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसैँ मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् ।

    कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ ।

    सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसैँ हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।

    दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँ मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरूले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसैँ मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    टेक्ससस्थित एक सूचना प्रविधि कम्पनीमा काम गर्ने सविता शर्मा दसैँ मान्नका लागि भनेर मेरिल्याण्ड आइन् ।

    उनले भनिनन्, ‘हामीहरूको ठूलो परिवार मेरिल्याण्ड राज्यमा बस्दै आएको छ । उहाँहरूसँगै वार्षिक बिदाका लागि निवेदन दिएर बिदा स्वीकृत गराइ दसैँ मनाउन मेरिल्याण्ड आएकी हुँ । हामीहरूले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्याैं भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।’

    काममा सधैं व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्त्वपूर्ण सेतुको काम गरेको छ ।

    एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफैंमा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो । त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक संघसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।

    केही समय अगाडि पेन्सल भेनियाको ह्यारीसवर्गमा आयोजित दसैँ, तिहार मिट एण्ड ग्रिट कार्यक्रममा सहभागी भएका गायक रामकृष्ण ढकालले दर्शकलाई नेपाली गीतबाट मनोरञ्जन प्रदान गरेका थिए ।

    नेपाली पोशाकमा देखा परेका नायक, नायिका, गायक गायिकाको बाक्लो उपस्थितिले नेपालीपनको झल्को मात्र प्रदान गरेन, भाषा, संस्कृतिको जगेर्नाका लागि दोस्रो पुस्तालाई जानकारी पनि गरायो ।

    अध्ययनका लागि अमेरिका आएकी अंकिता अग्रवाल अमेरिकामा रहेका नेपाली समुदायको दसैँप्रतिको श्रद्धाले आफूलाई निकै खुसी तुल्याएको बताउँछिन् ।

    उनले यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत सुनाइन् ।

    टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफैंमा निकै रोचक थिए नै । यसैले अंकितलाई आफू नेपालमै त छैन भन्ने अनुभूति गराउनु स्वाभाविकै हो ।

    अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको संख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजारको संख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ ।

    भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो ।

    तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।

    वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवम् भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पुर्याउन सकेको देखिन्छ ।

    आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरूले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवम् परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् ।

    दसैँ पर्वलाई नै लक्षित गरेर मेरिल्याण्ड राज्यका विधायक डा.ह्यारी भण्डारीले गत वर्षको संसद् अधिवेशनमा दसैँ विधयेक पेस गरेका थिए । उनले पेस गरेकाे विधयेक मेरिल्याण्ड राज्यको तल्लो सदनले पास गरेर माथिल्लो सदनमा पेस भएको छ ।

    आगामी नोभेम्बरमा निर्वाचित हुने माथिल्लो सदनले उक्त विधयेक पास गरेको खण्डमा अमेरिकाभरीमा दसैँ नेपालीको पर्व हो भनेर कानूनी मान्यता प्राप्त गर्ने मेरिल्याण्ड पहिलो राज्य हुनेछ ।

    अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसैँ पर्वले विस्तारै नेपाली आप्रवासीको महत्त्वपूर्ण पर्वका रूपमा मान्यता पाउँदै गएको देखिन्छ ।

    बडादसैँको अवसर पारेर अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले शुभकामना सन्देश सम्प्रेषित गरेका छन् । उनले सन्देशमा संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij