Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पशुपालनमा केन्द्रित हुँदै किसान

पशुपालनमा केन्द्रित हुँदै किसान

  • 385
    SHARES
  • पशुपालनमा केन्द्रित हुँदै किसान

    दाङ । दाङ घोराही उपमहानगरपालिका-८ दुन्द्राका आइतमाली विकको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ ।

    उनी बिहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउने र खोर सफा गर्ने गर्छन् । यस्तै दिनचर्यामा उनको तीन वर्ष बितिसकेको छ । आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ ।

    माडीगाउँपालिका-१ रोल्पा स्थायी घर भए पनि अहिले घोराही बस्दै आएका विक बंगुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताउछन् । उनले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरिसकेका छन्।

    बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उनले यो पेशामा लागेको हुन् । थोरै रकममार्फत सुरु गरेको व्यवसाय अहिले एक करोड बढीको लगानी पुगेको उनले बताए ।

    मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका विकले आफ्नै एक बिघा जग्गामा बंगुरपालन व्यवसाय सुरु गरेका हुन् । अहिले उनको फार्ममा अहिले दुई सय ६० वटा बंगुर रहेका छन् ।

    यसअघि सात सय रहेकामा केही समय अगाडि बंगुर मरेका कारण केही क्षति पुगेको उनको भनाइ छ । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगारसमेत प्रदान गरेका छन् । यो व्यवसायबाट वार्षिक पाँच लाखसम्म बचत गरेको बताए ।

    रोल्पा रुन्टिगढी गाउँपालिका-३ जवाङका पूर्णबहादुर घर्तीमगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका-१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन् । आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो ।

    उनले गाईभैँसीबाट दैनिकरूपमा उत्पादन गरेको दूध घोराहीमा बेच्ने गरेका छन् । १० वटा गाई, भैँसी र बोयर बोका पाल्दै आएका घर्तीले १८ कट्ठाजग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताउछन् ।

    रोजगारका लागि विभिन्न युवा श्रम शक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आर्यआर्जनको बाटो खोज्न आवश्यक रहेको उनको भनाइ छ । आफ्नै मेहनत र सीपमार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाईसमेत फाइदा पुग्ने उनले बताए ।

    नेपालमा थुप्रै जमिन बाँझो रहेका अवस्थामा युवा कुषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव छ । जिल्लाको राजपुर गाउँपालिका-३ खरदरीयामा पनि भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् ।

    यहाँ प्राय घरमा सयौँ भैँसी पाल्ने गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३/७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा पाँच सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् ।

    यस्तै २०७४/७५ मा चार सय ४८, २०७५/७६ मा पाँच ७४, २०७६/७७ मा छ सय ५७, २०७८/७९ मा एक हजार एक सय ८१ र २०७९/८० मा एक हजार पाँच सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

    हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij