वेबटिभी खबर
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।
विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
उनले भने, ‘दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो । त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।’
उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरि काम थालिएको शर्माले बताए ।
विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ । त्यसका लागि केबलकारको टावर जडान सुरु भएको उनले बताए । शर्माका अनुसार केही दिन अगाडि मात्रै केबलकारका सामान झारिएको छ ।
टावरको सामान आउन भएकाले अहिले सामान झारेर काम सुरु भएको उनले बताए । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ ।
केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड पुगेको छ ।
यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा ३०० रहेकामा त्यसलाई बढाएर ५०० पुर्याइएको छ । होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ ।
दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको शर्माले बताए ।
कम्पनीले केबलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ । एक घण्टाको २५ हजार शुल्क तिरेपछि १०/१५ हजार बराबरको खानाको सुविधा पनि दिइने जनाइएको छ ।
केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारी भइरहेको उनले बताए ।
उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीःबन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ ।
यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।
लिमिटेडले बन्दीपुर केबलकारको आइपिओ खुलाउने तयारी गरेको छ । सर्वसाधारणका लागि १०० कित्ता बराबरको आइपिओ खुला गरिनेछ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ ।
केबलकारबाट एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो ।
लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij