Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लप्सीजन्य व्यवसाय फस्टाउँदै

लप्सीजन्य व्यवसाय फस्टाउँदै

  • 505
    SHARES
  • लप्सीजन्य व्यवसाय फस्टाउँदै

    सिन्धुपाल्चोक । पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् ।

    जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ ।

    यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँ जस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक)का अध्यक्ष राजकुमार भण्डारीले बताए ।

    जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये ६ लाख केजी जिल्लामा सञ्चालित उद्योगले प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष २ करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ । जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ ।

    २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जीतबहादुर गिरीले वार्षिक तीन लाखको कारोबार गर्दै आएको बताए । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ ।

    ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा प्रशोधन केन्द्रले वार्षिक आँठदेखि १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलालले जानकारी दिए ।

    दुलालका अनुसार यसको बजार राम्रो भएकाले अब वृहतरूपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यवसायीकरूपमै यसको खेती गरिएको लघु उद्यमी संघका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिए ।

    यसबाट हाल तीन सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी दुई हजार जनालाई रोजगारीको अवसर दिलाउने कार्यक्रम रहेको उनले बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij