वेबटिभी खबर
काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले आफूलाई एस्पर्जर्स सिन्ड्रोम भएको बताएका छन् । अमेरिकी कमेडी टेलिभिजन सो स्याटर्डे नाइट लाइभ कार्यक्रममा उनले आफ्नो स्नायु प्रणालीसम्बन्धी डिसअर्डर भएको पहिलोपटक सार्वजनिक गरेको मानिएको छ ।
कार्यक्रममा ४९ वर्षीय मस्कले दर्शकसँग भने, ‘म पहिलो व्यक्ति हुँ, जसलाई एस्पर्जर्स सिन्ड्रोम छ, मेरो दिमागले सामान्य व्यक्तिको भन्दा फरक किसिमले काम गर्छ ।’ एस्पर्जर्स सिन्ड्रोम भएका मानिसहरू आफ्नो वरपरको वातावरणलाई सामान्य मानिसले भन्दा फरक किसिमले देख्ने मानिन्छ ।
सन् १९७० देखि सुरु भएको यस कार्यक्रममा एलन मस्कले गेस्ट होस्टको रुपमा काम गरेका थिए । स्पेसएक्स र टेस्ला कम्पनीका सिइओ एलन मस्क विश्वको दोस्रो धनाढ्य व्यक्ति हुन् ।
एस्पर्जर्स सिन्ड्रोम दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो । यसले व्यक्तिलाई अलग-अलग तरिकाले प्रभावित गर्न सक्छ । केही व्यक्तिले आफ्नो समस्या एस्पर्जर्स सिन्ड्रोम भन्न मन पराउँछन्, भने केहीले अटिस्टिक वा अटिम स्पेक्ट्रम पनि भन्छन् ।
यस समस्यासँग जुधिरहेका व्यक्तिलाई कुनै पनि कुरा छिट्टै बुझ्न समस्या हुन्छ, सामान्य व्यक्तिले भन्दा यस्तो सिन्ड्रोम भएका व्यक्तिलाई कुनै पनि जानकारी दिन लामो समय लाग्न सक्छ । एस्पर्जर्स सिन्ड्रोम भएका व्यक्तिहरु कुनै एक विशेष कामलाई साधारण व्यक्तिको तुलनामा बढी ध्यान दिन सक्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij