वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारको संरक्षण रहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकारको संरक्षणमा कांग्रेसको भ्रातृ संगठनले गरिरहेको क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने पनि बताए ।
‘हिजो विद्यार्थी संगठनको नेतृत्व गरेका व्यक्तिहरू आज देशको सर्वोच्च पदमा पुग्नुभएको छ । विश्वविद्यालयका प्राध्यापकहरूलाई कुट्ने, तिमीहरूलाई केही भयो भने प्रहरीबाट सुरक्षा दिन्छौं, मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं भन्ने शिक्षा दिनुभएको हो । अहिलेका प्रधानमन्त्री र गृहमन्त्री कुनै समयमा विद्यार्थीको नेतृत्व तहमा हुनुहुन्थ्यो । त्यतिबेला पञ्चायतको मण्डलेहरूको कुटाइ खानुभएको थियो होला । अहिले त्यस्तै व्यवहार गरिरहनुभएको छ । के मौका नपाएर मात्रै मण्डले नभएको हो ? यो त होइन होला,’ उनले भने, ‘कुलपति हुनुहुन्छ प्रधानमन्त्री । यहाँलाई पोल्नुपर्छ कि पर्दैन ? सरकार संरक्षित गुन्डागर्दीबाट विश्वविद्यालय कुन अवस्थामा पुग्छ ?’
तीन वर्षमा तीन सय दिन तालाबन्दी गर्ने र प्राध्यापकमाथि आक्रमण गर्नेहरूलाई सरकारले संरक्षण दिइरहेको ज्ञवालीको भनाइ थियो ।
‘तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि, कक्षाकोठामा गइरहेका प्राध्यापकमाथि आक्रमण भइसकेपछि, चलाएको मुद्दा फिर्ता लिने भएपछि कसरी विश्वविद्यालय खुल्छ ?’ उनले प्रश्न गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij